राष्ट्रसंघको महासभामा प्रधानमन्त्री नेतृत्वमा १० जनाको टोली जाने

तु खबर संवाददाता
२०८० भाद्र २६,मंगलवार १६:०२
file photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा १० जनाको टोली जाने भएको छ ।

यसअघि प्रधानमन्त्री कार्यालयको निर्देशनमा तयार पारिएको सूचीमा २४ जना सदस्यको नाम राखिएको थियो । प्रधानमन्त्री प्रचण्डले भ्रमणमा प्रतिनिधि मण्डलमा अनिवार्य आवश्यक्ता बाहेक सूचीमा रहेका सदस्यको आकार घटाउन निर्देशन दिएसँगै प्रधानमन्त्री कार्यालयले बढीमा १० जना हुने गरी नयाँ सूची तयार पारेको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, प्रतिनिधि मण्डलमा प्रधानमन्त्रीसँगै उनको सचिवालयका दुई जना सुरक्षाकर्मी, स्वकीय सचिव गंगा दाहाल र फोटोग्राफर प्रदिपराज वन्त रहने छन् ।

यस्तै, पराष्ट्र मन्त्रालयबाट मन्त्री एनपी साउद मंगलबार नै पूर्व तयारीका लागि न्युयोर्क प्रस्थान गरिसकेका छन् । उनीसँग उनका स्वकीय सचिव दीपकराज जैशी पनि न्युयोर्क गएका छन् । परराष्ट्रबाट सचिव भरतराज पौड्याल, चिफ अफ प्रोटोकल दिलिप कुमार पौडेल र थप एक जना प्रोटोकल अधिकृत पनि रहनेछन् ।