नेम्वाङको निधनप्रति राष्ट्रपतिसहित शीर्ष नेताहरुद्वारा समवेदना प्रकट

काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शीर्ष दलका नेताहरुले समवेदन प्रकट गरेका छन् ।
नेम्वाङको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्ष नेताहरुले समवेदना प्रकट गरेका हुन् ।
राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताउँदै दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सभापति देउवाले नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गएराति निधन भएका एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता स्व. नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व. नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
यसैगरी, पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले उपाध्यक्ष नेम्वाङको निधनले स्तब्ध र मर्माहत भएको बताएका छन् । भट्टराईले ट्विटमार्फत संविधान सभा अध्यक्ष नेम्वाङको निधनले देशले ठुलो क्षति व्यहोरेको बताउँदै उनको आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजन र पार्टी पंक्तिमा समवेदना व्यक्त गरे ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको थियो ।
नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।