संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष नेम्वाङको निधन
काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । नेम्वाङको हृदयघातका कारण निधन भएको हो ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका उनलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले जानकारी दिए ।
नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । वि.सं. २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ स्नातक अध्ययनका क्रममा वि.सं. २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरी इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति समेत भएका थिए ।
विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र मालेमा सङ्गठित उनी एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।
नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधि सभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष रहेका थिए ।
विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।
त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए ।
