संघीयता कार्यान्वयनमा संघीय सरकार गम्भीर बन्नुपर्छ : मन्त्री श्रेष्ठ

तु खबर संवाददाता
२०८० भाद्र २५,सोमबार १६:२३

मकवानपुर । बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले संघीयता कार्यान्वयनमा संघीय सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । नेपाल एफएम नेटवर्कले सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरेको अन्तरसरकारी सम्बन्ध र संसद विषयको संवाद कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले संविधानको मर्म अनुसार संघीय सरकारले समन्वय गर्न नसकेको आरोप लगाउँदै त्यसतर्फ संघीय सरकार गम्भीर बन्नुपर्ने औल्याएका हुन् । संघीयताको प्रभावकारी कार्यान्वयन गर्न संरचनागत परिवर्तन आवश्यक रहेको मन्त्री श्रेष्ठले बताए ।

राज्यको पुर्नसंरचना, शासकीय स्वरुप परिवर्तन र अहिलेको निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म राजनीतिक स्थायित्व, शान्ती र समृद्धि सम्भव नरहेको उनको भनाई छ । संघीयतालाई स्थापित गर्न तीनै तहबीच समन्वय आवश्यक रहेको र त्यसमा संसद्ले भूमिका खेल्नुपर्ने उनले उल्लेख गरे ।

प्रवक्ता श्रेष्ठले बागमती सरकारले कानून निर्माण र योजना तर्जुमामा नयाँ थिति बसाल्ने पनि प्रतिवद्धता जनाए । सहभागी सांसद् स्थानीय तहका प्रतिनिधिका प्रश्नको जवाफदिदै मन्त्री श्रेष्ठले हिजो भएका गल्तीमा धेरै बहस नगरी अब नयाँ प्रणाली विकास गर्न लाग्नुपर्ने बताए ।

उनले सांसदहरुलाई पनि विकासको एजेण्डा भन्दा विधायकी भूमिकालाई स्थापित गर्ने गरी बहस गर्न सुझाव दिए । उनले संविधान कार्यान्वयन गर्न संविधानको स्प्रिट अनुसार नेपाल सरकारले आवश्यक ऐन, कानूनहरु बनाउनुपर्ने, पूराना ऐन कानूनलाई समयानुकुल परिमार्जन गर्नुपर्ने, बनेका ऐन कानूनहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिए ।