१२५ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ हटियामा शनिबार सम्पन्न निःशुल्क स्वास्थ्य परीक्षणमा ११५ जनाले सेवा लिएका छन् ।
श्री राधा माधव समिति नेपाल, जगद्गुरुतम मन्दिर अध्यात्म केन्द्र र डिभाइन युथ क्लब नेपालको संयुक्त आयोजना तथा सन्चो हस्पिटल प्रालि हेटांंैडाको प्राविधिक सहयोगमा भएको निःशुल्क शिविरमा उनीहरुले सेवा लिएका हुन् ।
मासिक रुपमा संचालन हुने उक्त शिविर हटियास्थित प्रस्तावित श्री जगद्गुरुत्तम चिकित्सालय स्थलमा भएको हो । शिविरमा हार्ड जोर्नी तथा नशा रोग, दन्त रोग, सामान्य चिकित्सा र फिजियोथेरापी सम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो ।
उक्त शिविरमा सन्चो हस्पिटल प्रालि हेटौंडाका हार्ड जोर्नी तथा नशा रोग डाक्टर आशुतोष दास, सामान्य चिकित्सा डाक्टर सचिन दास, जस्मिन हस्पिटल प्रालि मायादेवी १– की सञ्चालक फिजियोथेरापिस्ट डाक्टर रोशनी नेपाली र पन्चकोश डेन्टल हस्पिटल प्रालि जाजरकोटका सिडिसि डाक्टर प्रेमबहादुर कार्कीद्वारा स्वास्थ्य जाँच गरिएको थियो ।
शिविरमा निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधी पनि वितरण गरिएको थियो । शिविर कार्यक्रम श्री राधा माधव समिति नेपालका केन्द्रिय सदस्य किरण शर्मा भण्डारीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका १८ का वडा अध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।
उद्घाटन कार्यक्रममा सहभागी अतिथिले आगामी दिनमा संस्थासँग जोडिएर सहकार्य र समन्वय गर्ने बताएका छन् । विगतका दिनहरुमा संस्थाले शिविरहरु संचालन गर्दै आएको छ । २०७६ पुस महिनादेखि सुरु भएको शिविर कोरोना अवधिभर रोकिएर पुनः संचालन हुँदै ३० औं श्रृङ्खला अन्तर्गत शनिबारको शिविर सम्पन्न भएको हो ।
विगतमा विभिन्न विधामा आयोजित शिविरमा विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य जाँच गरिएको थियो । अब आउने महिनामा विशेषज्ञ डाक्टरहरुबाट हेटौंडाका स्थानीय बासिन्दालाई अझै लाभ पुर्याउने योजना रहेको जनाइएको छ ।