समाजवादी मोर्चा घोषणा गर्न प्रचण्ड आज हेटौंडा आउँदै

तु खबर संवाददाता
२०८० भाद्र २४,आईतवार ०८:३९
file photo

मकवानपुर । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज हेटौंडा आउने भएका छन् । समाजवादी मोर्चाको बागमती प्रदेश स्तरीय समिति घोषणा गर्न प्रचण्ड हेटौंडा आउन लागेका हुन् ।

उनीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव विप्लव हेटौंडा आउन लागेका हुन् ।

मोर्चामा आवद्ध राजनीतिक दलहरुले आज हुने सन्देश सभा र घोषणा सभाको तयारी पूरा भएको जानकारी दिएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपासहितको मोर्चाको बागमतीको नेतृत्व कसले पाउने भन्ने विषयमा अहिले केही खुलाइएको छैन ।

त्यस्तै, कार्यक्रममा मोर्चामा आवद्ध राजनीतिक दलका कार्यकर्ताहरुलाई मोर्चाको अवधारणाबारे प्रशिक्षण दिइने नेकपा एकीकृत समाजवादी पार्टीकी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन् ।

उनले मोर्चा आवद्ध दलहरुले साझा अवधारणा लिएर मुलुकको सर्वोपरी हितका लागि अघि बढेको बताउँदै सैद्दान्तिक र बैचारिक एकता भएको खण्डमा भविष्यमा बाम एकता हुने उल्लेख गरिन् ।