बागमती प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित
मकवानपुर । बागमती प्रदेश सभाको सोमबारका लागि आह्वान गरेको बैठक बस्दै नबसी स्थगित गरिएको छ । सोमबार दिउँसो साढे १ बजेको लागि आह्वान गरिएको प्रदेश सभा विशेष कारण देखाउँदै स्थगित गरिएको हो ।
प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले एक सूचना जारी गर्दै आजको लागि तय भएको कार्यसूची हटाएर अर्को बैठक यही भदौ २० गते दिउँसो १ बजे बस्ने गरी प्रदेश सभा स्थगित भएको जानकारी गराए ।
प्रदेश सभा बैठकका लागि कार्यसूची तयार गर्न आजै बिहान साढे ११ बजेदेखि कार्यपरामर्श व्यवस्थापन समितिको बैठक बसेको थियो ।
सो बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले, राप्रपा दलका नेताहरु र सरकारबीच विभिन्न विषयमा सहमति हुन नसकेपछि साढे १ बजेको लागि बोलाइएको बैठक साढे ३ देखि ४ बजेसम्म बस्ने भनिएको थियो । तर, उक्त समयमा बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको हो ।
प्रदेश सभाको बैठक यसअघि गत असार २१ गते बसेको थियो ।
