माओवादीको विशेष रुपान्तरण अभियान आजबाट सुरु
काठमाडौँ । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ आजबाट सुरु भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका ७ हजार २४३ वडामा एक साथ सो अभियानको आज उद्घाटन गरेका छन् । अभियान ३ महिनासम्म संचालन हुने जनाइएको छ ।
यस अभियान अन्तर्गत पार्टीका सबै शीर्ष नेताहरू समेत वडावडामा पुग्ने कार्यक्रम तय भएको छ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका –२ घट्टेडाँडाको कार्यक्रममा जाने जनाइएको छ ।
अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीको योजना छ । माओवादीले यो अभियानलाई आफूहरुले अन्तिम परीक्षाको रुपमा लिएको बताएको छ ।