मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित मंगलबार बिहान दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा ९ किलोसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धनुषाको सागरनाथ नगरपालिका वडा नम्वर ८ बस्ने ४३ वर्षीय देबनारायण दास र सिराहाको कर्जनहा नगरपालिका वडा नम्वर ८ बस्ने ४२ वर्षीय राम सागर साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहान साढे ९ बजेको समयमा हेटौंडाबाट जनकपुरतर्फ जाँदै गरेको ना ५ ख २१६५ नम्वरको बसलाई सादा पोशाकमा खाटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
साथै प्रहरीले पक्राउ परेका देबनारायण दासको साथबाट ३० हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
