पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध बनेको हो ।
उक्त पहिरो पन्छाउन अझै ५–६ घण्टालाग्ने भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार, रातभर पहिरो पन्छाउने काम गरिएको भएपनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको छ ।
गन्तव्यमा हिँडेका सवारी साधन र यात्रु रातभर बाटोमै रोकिएका छन् । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
