प्रदेश सरकारले रोजगार सृजना गर्ने नीति अगाडि सार्यो : मुख्यमन्त्री

तु खबर संवाददाता
२०८० भाद्र ४, सोमबार १७:०३

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले रोजगारी सृजना गर्ने नीति अगाडि सारेको बताएका छन् ।

सोमबार प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा आयोजित प्रदेश श्रम तथा रोजगार नीति २०८० सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्मकट्टेलले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलले मुख्य रुपमा रोजगारी सृजना गर्नुनै सरकारको काम रहेकाले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई आवश्यक ऐन कानून बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।

उनले अब प्रदेश सरकारले समुदायमा आधारित कृषिको मोडल बनाएर रोजगारीसँग जोड्ने बताए । अहिले प्रदेश सरकारले १४ करोड रुपैयाँ बजेट विनियोजन गरेर त्यसबाट २० हजार जना किसानलाई जोड्ने उनले दाबी गरे ।

अब सीप सिकेर मात्र विदेश जानुपर्ने गरी सबै युवाहरुलाई सीप सिकाउनेतर्फ आफुहरु लागिपरेको उनको भनाई छ । साथै उनले सामाजिक सुरक्षा कोषमा सरकारको लगानी नभएकोमा आपत्ति जनाए ।

श्रम र रोजगार मात्र नभई प्रदेश सरकारले यातायात क्षेत्रलाई पनि व्यवस्थित बनाउने उनको भनाई छ ।