वडाध्यक्ष घिमिरे मृत अवस्थामा फेला
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे आज बिहान मृत अवस्थामा फेला परेका छन् ।
बिहान करिब ५ बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे ७ बजे रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
वडाध्यक्ष घिमिरे घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार, वडाध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु । अल बिदा ।’ भनेर स्टाटस लेखेका थिए ।
शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाध्यक्ष घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् ।
उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको गुल्मी प्रहरीले जनाएको छ ।
