पहिरोका कारण अवरुद्ध कान्तिलोकपथमा पुनः यातायात संचालन

तु खबर संवाददाता
२०८० भाद्र १, शुक्रबार ०९:३२
file-photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डमा पहिरो पन्छाई आज बिहानबाट पुनः यातायात संचालनमा ल्याएको छ ।

उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुर जिल्लाको भटेटेडाँडास्थित गएराति गएको पहिरो पन्छाई आज बिहान ९ बजेबाट पुनः यातायात संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट हेटौंडातर्फ आउँने र हेटौंडाबाट काठमाडौंतर्फ जाने सवारी साधनहरु रोकिएको थियो । उक्त सडकखण्डमा यसअघि पनि पटक–पटक पहिरो जाने गरेको थियो ।

यसैगरी, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग, हेटौंडा–भीमफेदी सडकखण्ड र भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको यातायात अहिले संचालन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।