उत्तराखण्डमा घर भत्किँदा दुई नेपालीको ज्यान गयो
काठमाडौं । भारतको उत्तराखण्डको चामोली जिल्लाको हेलाङमा घर भत्किँदा दुई नेपाली नागरिकको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।
मंगलबार राति करिब ८ बजे दुई तले घर भत्किँदा दुई नेपाली नागरिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार, मृत्यु भएकामध्ये एक जनाको घटनास्थलमा नै ज्यान गएको र एक जनाको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो ।
ज्यान गुमाउनेहरुमा १९ वर्षीय अनमोल र २१ वर्षीय प्रिन्स भनेर मात्र खुलाइएको छ ।
यस्तै, उद्धार गरिएका अन्य पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । क्रसर उद्योग नजिक बनाइएको उक्त घरमा त्यहाँको कामदार बस्ने गरेका थिए ।