बुधबार सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको र त्यसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने सबै प्रदेशका पहाडी भू–भागको केहि स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
