ब्रेक शुमार्फत् तस्करी गरिएको सुनको तौल ६० किलो ७८९ ग्राम मात्रै
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आज जोखेको छ ।
सुनको तौल ६० केजी ७८९ ग्राम मापन भएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिएका छन् ।
ब्रेक शुबाट छुट्टाएपछिको शुन ६० केजी ७८९ ग्राम रहेको उनले बताए । उनले भोलि साढे १० बजेदेखि गालेर जोख्न सुरु हुने बताए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रेक शुबाट सुन निकालिएको थियो ।
राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो । उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो । तर अहिलेसम्म जोखिएको थिएन ।
राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।
