मकवानपुर पहिरो अपडेट : मृतकको संख्या ४ पुग्यो
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नं. ५ सिक्रेदोभानमा गत मंगलबार आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४ पुगेको छ । बुधबार साँझ थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक र्कीका अनुसार, बुधबार साँझ पौने ७ बजेको समयमा सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्वर ३ बनौलिस्थित बागमती खोलाको किनारमा अन्दाजी ८ महिनाको दिब्या पहरी मृत अवस्थामा फेला परेको हो ।
उक्त पहिरोमा परेर यसअघि मंगलबार एक जना र बुधबार दुई जनाको शव फेला परेको थियो । बागमती गाउँपालिका वडा नम्वर ५ बस्ने अन्दाजी ५५ वर्षीय सन्तमाया स्याङ्तान, उनका श्रीमान अन्दाजी ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र छोरी अन्दाजी २२ वर्षीया शिला पहरीको शव फेला परेको हो । तीमध्ये सन्तमायाको मंगलबार र अन्य दुई जनाको बुधबार शव फेला परेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
यस्तै, उक्त पहिरोमा परेर अझै दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा मृतक सन्तमायाको ज्वाई अन्दाजी २५ वर्षीय जिबन पहरी र नाती अन्दाजी ४ वर्षीय मिलन पहरी रहेका छन् । उनीहरुको स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
सो पहिरोमा परेर एक जनाको भने सकुशल उद्दार गरिएको छ । पहिरोमा परेर मृतक सन्तमायाको घरमा पहुना आएका सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नं. १ कोकटी बस्ने १७ बर्षीय पासाङ घिसिङको मंगलबार साँझ सकुशल उद्दार गरिएको हो । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
मृतक सबैको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको छ ।