बाढीले बगाउँदा दुई जनाको मृत्यु
सर्लाही । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मंगलबार बाँके खोलामा शव फेला परेको हो ।
त्यस्तै, सर्लाहीको बरहथवा नगरपालिकाअन्तरगत पर्ने हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो ।
बाढीले बगाएलगत्तै उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यसैबीच, बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाही प्रहरीले जनाएको छ । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए ।
त्यस्तै, सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बागमती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने दुई जनाको प्रहरीले उद्धार गरेको छ । बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका थिए । लगत्तै उनीहरुको उद्धार गरिएको हो ।
