दुई महिने बालकको हत्या आरोपमा आमाबाबु पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण २२, सोमबार १७:०८

बाग्लुङ । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीका अनुसार, गत साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस/तानातान गर्ने क्रममा आफ्नै घरभित्र भुईमा खसी बझारिएपछि घटनास्थलमै बालकको मृत्यु भएको बताइएको छ ।

प्रहरीले घटनाको विषयमा तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रहरीले जिल्ला अदालत बागलुङमा आइतबार ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।