हेटौंडाको पशुपतिनाथमा भक्तजनको घुइँचो
मकवानपुर । साउनको चौथो सोमबार आज विहानैदेखि शिव मन्दिरहरुमा भक्तजनहरुको घुइँचो देखिएको छ ।
हेटौंडा–४ हुप्रचौरस्थित पशुपतिनाथ मन्दिरमा बाक्लो सङ्ख्यामा हिन्दु धर्मावलम्बीहरुको घुइँचो लागेको हो । भक्तजनहरु साउने झरीमा रुझ्दै मन्दिर परिसरमा लाम लागेका छन् ।
त्यस्तै हेटौंडा–८ स्थित कालिकाटोलस्थित शिव मन्दिर, हेटौंडा– १० स्थित गोरक्षस्वर मन्दिर र त्रिवेणी धामलगायत अन्य शिवालयहरुमा पूजा, आराधना एवम् दर्शनका लागि भक्तजनहरुको बाक्लो उपस्थिति देखिएको छ ।
साउनको सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लाग्ने भएकाले बिहानैदेखि ढोका खुला गरेर भक्तजनहरुलाई पूजा, आराधना गर्ने वातावरण तयार पारिएको मन्दिर व्यवस्थापनले जनाएको छ ।
शिवालयहरुमा रातो र हरियो पहिरनमा ब्रतालु महिला तथा विभिन्न जलाशयबाट ल्याइएको शुद्ध जल अर्पण गर्न महिला पुरुष दुवैको घुइँचो लागेको छ ।
साउन महिना र सोमबारका दिन शिवालयमा शुद्ध जल चढाएमा भगवान आशुतोष प्रसन्न भई मनोकामना पूरा गरिदिने धार्मिक विश्वास रहेको छ ।
