अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम मिति

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज सोमबार अन्तिम मिति रहेको छ । कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर बिक्री खुला गरेको थियो ।
जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयरमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ ।
यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला भएको हो । यसमा माग भन्दा बढी आवेदन परिसकेका कारण सोमबार बिक्री बन्द हुन लागेको हो ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।