चोरी गरेको आरोपमा मकवानपुरका पुरुष पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण २१,आईतवार ०८:४०
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी गरेको आरोपमा प्रहरीले बिहीबार मकवानपुरका एक जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ४५ वर्षीय विकास देउला (पोडे) रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सुजनको घरमा गत साउन ६ गते राति सुन तथा हिराका गरगहना र नगदसमेत गरी करिब ८५ लाख २६ हजार ९ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चोरीका सामानहरू देउलासँग रहेको खुल्न आएपछि उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको जनाएको छ ।

साथै उक्त कार्यमा हाल अभद्र व्यवहार कसूरको अनुसन्धानको सिलसिलामा प्रहरी वृत्त मालिगाउँको थुनामा रहेका सिन्धुपाल्चोक तौथली गाउँपालिका–७ घर भएका ३२ वर्षीय सुमन भन्ने बिष्णु श्रेष्ठको समेत संलग्नता रहेको खुल्न आएको छ ।

पक्राउ परेका देउलालाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको जनाइएको छ ।