उत्तराखण्ड पहिरो : बेपत्तामध्ये तीन नेपालीको पहिचान खुल्यो
महेन्द्रनगर । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ ।
पहिचान खुल्नेमा कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामी रहेको भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो ।
घट्नास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका थिए ।
बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए । तीमध्ये तीन जना नेपालीको शव फेला परेको छ । अन्यको भने खोजीकार्य भइरहेको जनाइएको छ ।
बेपत्ताको खोजीका लागि नयाँ दिल्लीस्थित दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
