आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० श्रावण २०, शनिबार ०८:२७
file-photo

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै, भोलि आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।