हेटौंडाबाट पक्राउ परेका जुवाडेमाथि अनुसन्धान गर्न एक हप्ताको म्याद थप
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाको होटल एभोकाडोबाट पक्राउ परेका जुवाडेमाथि अनुसन्धान गर्न शुक्रबार एक हप्ताको म्याद थप गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित उक्त होटलको २०८ नम्वरको कोठाबाट पक्राउ परेका पाँच जना जुवाडेमाथि आवश्यक अनुसन्धान गर्न एक हप्ताको म्याद थपिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार, शुक्रबार उक्त होटलमा कोठा भाडामा लिएर हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा नगद दुई लाख ५४ हजार ४२० रुपैयाँ, २ बुक सिल भएको तास, २ बुक खुल्ला तास र जुवा खेल्न प्रयोग गरेको क्वाईन ७६ थानसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले हेटौंडा–१ बस्ने ४० वर्षीय बलराम विश्वकर्मा, हेटौंडा–१२ बस्ने ३५ वर्षीय दिपक घले, चितवन भरतपुर महानगर २ घर भई हाल हेटौंडा–४ बस्ने ४५ वर्षीय सुन्दरकुमार श्रेष्ठ, हेटौंडा–५ बस्ने ३४ वर्षीय सहदेव लम्साल र हेटौंडा–४ का ४२ वर्षीय प्रकाश मानन्धरलाई पक्राउ गरेको थियो ।
