हेटौंडाको एभोकाडो होटलबाट पाँच जुवाडे प्रहरीको नियन्त्रणमा
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाको एक होटलबाट बिहीबार साँझ जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित एभोकाडो होटलको २०८ नम्वरको कोठाबाट पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
उक्त होटलमा कोठा भाडामा लिएर हारजित हुने गरी जुवा खेलिरहेको छ भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले जुवा (तास) खेलिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीको नियन्त्रणमा हुनेहरुमा हेटौंडा–१ बस्ने ४० वर्षीय बलराम विश्वकर्मा, हेटौंडा–१२ बस्ने ३५ वर्षीय दिपक घले, चितवन भरतपुर महानगर २ घर भई हाल हेटौंडा–४ बस्ने ४५ वर्षीय सुन्दरकुमार श्रेष्ठ, हेटौंडा–५ बस्ने ३४ वर्षीय सहदेव लम्साल र हेटौंडा–४ का ४२ वर्षीय प्रकाश मानन्धर रहेका छन् ।
उनीहरुलाई नगद दुई लाख ५४ हजार ४२० रुपैयाँ, २ बुक सिल भएको तास, २ बुक खुल्ला तास र जुवा खेल्न प्रयोग गरेको क्वाईन ७६ थानसहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
