मनहरी नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेती सुरु

तु खबर संवाददाता
२०८० श्रावण १९, शुक्रबार ०९:०६

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा गाउँपालिकाको संयुक्त पहलमा मनहरी–४ वनकरिया खेलमैदान नजिकै एक हजार तीन सय ६० नरिवलको बिरुवा रोपिएको हो ।

नदीउकास क्षेत्रको सार्वजनिक जग्गा संरक्षण गर्न, वातावरण हरियाली बनाउन तथा स्थानीयलाई आयआर्जनसँग जोड्न नरिवल खेती थालनी गरिएको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष कालाखेतीले नरिवल रोपेर नदीउकास जमिनको संरक्षण हुनुका साथै बस्ती जोगाउन र आयआर्जनमा जोड्न सहयोग पुग्ने विश्वास लिएको बताए । मनहरी–४ को रु तीन लाख बजेटमा करिब दुई बिघा १० कठ्ठा सार्वजनिक जग्गामा नरिवल खेती गरिएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको रु छ लाख ५० हजारमा तारजाली, घेराबार र खेतीको संरक्षण गर्न दुई कर्मचारी नियुक्त गरेर संरक्षणको जिम्मा दिइएको छ । मनहरी–७ मा लिची र अम्बा तथा वडा नं ८ मा एभोकाडोको बिरुवा रोप्ने तयारी रहेको अध्यक्ष कालाखेतीले बताए ।