यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० श्रावण १९, शुक्रबार ०७:५१
file-photo

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू–भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको तराई भू–भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।