बागमती प्रदेश : १५ दिनमा ६०० जनामा डेंगू सङक्रमण पुष्टि

तु खबर संवाददाता
२०८० श्रावण १७, बुधबार १६:४६
file-photo

मकवानपुर । बागमती प्रदेशमा १५ दिन ६०० जनामा डेंगू संक्रमण पु्ष्टि भएको छ । प्रदेशमा साउन १ गतेदेखि १५ गतेसम्ममा सो संख्यामा डेंगू संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा प्रदेशका ८ जिल्लामा संक्रमितको संख्या बढेको हो । तीमध्ये सबैभन्दा धेरै धादिङ जिल्लामा डेंगू संक्रमितको संख्या बढेको हो । त्यहाँ ४३८ जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।

यसैगरी, काठमाडौंमा १२२, भक्तपुरमा ८, ललितपुर र मकवानपुरमा ९÷९, नुवाकोटमा ५, चितवनमा ८ र सिन्धुपाल्चोकमा एक जनालाई डेंगू सङक्रमण भएको मन्त्रालयले जनाएको छ ।

देशभरसहित यस प्रदेशमा पनि डेंगू सङक्रमणको दर बढेको छ । साउन दोस्रो सातासम्मै सङक्रमणको दर बढ्नु चिन्ताको विषय भएको मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिए । उनले हरेक वर्ष झै यसवर्ष पनि भदौ, असोज र कात्तिक महिनामा सङक्रमण दर बढ्ने सक्ने बताए ।

उनका अनुसार प्रदेशमा गत पुस १७ देखि साउन १५ सम्म ९८० जनामा डेंगू सङक्रमण पुष्टि भएको छ ।