नापतौलमा ठगी गर्ने १९ हजार व्यापारी कारबाहीमा

तु खबर संवाददाता
२०८० श्रावण १७, बुधबार १०:३७

काठमाडौं । काठमाडौं नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारी कारबाहीमा परेको छ ।

विभागले आर्थिक वर्ष २०७९/०८० मा देशभर अनियमित रूपमा नाप्ने–तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो ।

विभागले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको विभागका महानिर्देशक दिनानाथ मिश्रले जानकारी दिए ।

उनका अनुसार, विभागले देशभर नापतौलका लागि नयाँ इजाजत तथा प्रमाणपत्र दिने, इजाजत नलिएका व्यापारीलाई कारबाही गर्ने ट्याक्सीको चेकजाँच गर्नेलगायतका कामबाट सात करोड १६ लाख ११ हजार ८५ राजस्व सङ्कलन गरेको छ ।