आज भीमदत्त पन्तको स्मृति दिवस मनाइँदै
काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुले आदर्श पुरुष मान्ने शहीद भीमदत्त पन्तको ७१ औं स्मृति दिवस आज मनाइँदै छ ।
१९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्तको २०१० साउन १७ गते डडेल्धुराको आलिताल र डोटीको छतिवनको सिमानामा पर्ने गल्लेख भन्ने ठाउँमा हत्या भएको थियो ।
जमिन्दार र सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गरेका उनले ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा आवाज बुलन्द पारेका थिए ।
अन्याय र सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलन शुरुवात गरेको लेखक तथा प्राध्यापक कल्याण ओझाको पुस्तक ‘शहीद भीमदत्त पन्त’ मा उल्लेख छ ।
२००९ सालमा कञ्चनपुरको ब्रह्मदेवमा राखिएको नुनको गोदाम कब्जा गरी किसानलाई वितरण गरेपछि नेपाली र भारतीय दुबै देशका शासकहरु उनका दुश्मन बन्न पुगे । किसान आन्दोलनकै क्रममा उनका दुई छोरा प्रेमराज र लीलाराज तथा छोरी रेवाको मृत्यु भयो ।
२०१० साल साउन १७ गते डडेल्धुराको आलिताल र डोटीको छतिवनको सिमामा पर्ने गल्लेख भन्ने ठाउँमा नेपाल र भारत दुवै देशका सेनाहरुको टोलीले संयुक्त रुपमा घेरा हालेर उनको हत्या गरेको थियो ।
क्रान्तिकारी किसान नेता पन्तको हत्या भएको ६ दशकपछि २०७२ साल फागुन १९ गते मात्रै नेपाल सरकारले उनलाई शहीद घोषणा गरेको थियो ।
