साउन १५ मा खीर खानुको महत्व
मकवानपुर । असार १५ दही–चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खीर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ ।
आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।
वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसको साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो छ ।
हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा रहेको छ ।
साउन महिना वर्षात समय भएकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खीर खाने गरिन्छ । खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । वर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खिर खाने गरेको पाइन्छ ।
हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् ।
गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोग प्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ । यससँगै मौसमी फलफूल र मसला पनि खाने गरिन्छ ।
