बाघको आक्रमणबाट नेपालमा ५८ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण १३,शनिबार ०८:५४
सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा बाघको आक्रमणबाट पाँच वर्षको अवधिमा ५८ जनाको मृत्यु भएको छ । घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा बाघको आक्रमणबाट उनीहरुको मृत्यु भएको हो ।

आर्थिक वर्ष २०७९–८० मा बाघको आक्रमणबाट १२, आव २०७८–७९ मा २१, आव २०७७–७८ मा १३, आव २०७६–७७ मा ८ र आव २०७५–७६ मा बाघको आक्रमणबाट ४ को मृत्यु भएको विश्व जन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले जानकारी दिए ।

मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जङ्गल वरपरका समुदायलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने उनले बताए ।

साथै उनले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए ।