काँकडभिट्टा नाकाबाट मात्रै ५१ करोडको कोदो आयात
काठमाडौँ । पूर्वीनाका काँकडभिट्टा हुँदै ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको कोदो भारतबाट आयात भएको छ ।
आर्थिक वर्ष २०७९/८० मा १६ हजार ३५ मेट्रिक टन कोदो आयात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले जानकारी दिए ।
त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा भारतबाट सात करोड ५७ लाख २८ हजार मूल्यको ४ हजार ७ सय ३३ मेट्रिक टन फर्सी आयात गरिएको छ ।
कोदो र फर्सीमात्र होइन फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका वस्तु भारतबाट आयात गर्ने गरिएको छ ।
गत आर्थिक वर्षमा १९ करोड ८३ लाखको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।
३१ करोड ९८ लाख बराबरको १९ हजार ९ सय ८८ मेट्रिक टन करेला, १८ करोड ७४ लाख ७२ हजारको ११ हजार ७ सय १७ मेट्रिक टन भिन्डी र ८ करोड ९६ लाख ८० हजार बराबरको ५ हजार ६ सय पाँच मेट्रिक टन सिमी भारतबाट आयात गरिएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।
