चिनियाँ नेता च्युन र सभामुखबीच भेटवार्ता

तु खबर संवाददाता
२०८० श्रावण ८, सोमबार १६:२९

काठमाडौं । सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युयान च्या च्युनबीच सोमबार भेटवार्ता भएको छ ।

भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरेका छन् ।

सीपीसी नेता च्या च्युनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने आश्वसन दिए । उनले आफ्नो नेपाल भ्रमणमा ८० लाख युआन अर्थात् नेपाली १४ करोड रुपैयाँ सहयोगको घोषणा समेत गरे । नेता च्याचिनले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तोसमेत दिए ।