मकवानपुरमा एक घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति

तु खबर संवाददाता
२०८० श्रावण १, सोमबार ०९:०२

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं.२ सुलिकोटमा आइतबार एक घरमा आगलागी भएको छ ।

स्थानीय ६८ वर्षीय चन्द्र बहादुर वाईबाको काठ, ढुङ्गामाटोले बनेको दुई घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, अचानक बिजुली सर्ट भएर घरमा आगलागी भएको र ग्यास सिलिण्डर समेत पड्किएको हो । आगलागीबाट मानविय तथा चौपय क्षति भने भएको छैन ।

उक्त आगो स्थानीय र प्रहरीको सहयोगमा करिब डेढ घण्टापश्चात नियन्त्रणमा आएको थियो । आगलागीबाट घरमा रहेको अन्नपात, भाडा वर्तन, लत्ताकपडा, एक तोला सुन र नगद ३० हजार गरी करिब ७ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।