अवैध गाँजासहित हेटौंडाबाट एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले आज बिहान अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ कर्राबाट लागूऔषध गाँजा १०० किलो ६०० ग्रामसहितसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका वडा नम्वर ३ बस्ने बर्ष ३७ को दुर्गा दर्जी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, दर्जीलाई विशेष सूचनाको आधारमा पुगेको अस्थायी प्रहरी पोष्ट थानाभञ्ज्याङ मकवानपुरबाट प्रहरी सहायक निरीक्षक केदार विकको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।
बिहान साढे २ बजेको समयमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १६८८ नं. को बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा सो गाडीको पछाडीको भागमा खाली क्रेटहरुको मुनी बोराभित्र लुकाईछिपाई गरी राखेको सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
