मकवानपुरकी लामिछानेसहित ७ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा शनिबार एकैदिन विभिन्न घटनामा परेर ७ जनाको मृत्यु भएको छ । दोलखा, सिन्धुली, चितवन, काभ्रे, रामेछाप, धादिङ र मकवानपुरमा एक–एक जना गरी ७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, डुबेर ३ जना, झुण्डिएर ३ जनाको मृत्यु भएको छ भने एक बेवारिसे शव फेला परेको हो ।
दोलखाको बैतेश्वर गाउँपालिका–३, पाईले घर भएका अन्दाजी वर्ष ४६ को गोपाल खड्काको पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्लाको तामाकोशी कृषक समुहमा २०–२२ दिनदेखि काम गर्दै आएको खड्का पोखरीमा डुबिरहेको अवस्थामा फेला परेपछि तत्काल उद्धार गरी अस्पताल लगिएको थियो । उनको लालिगुरासँ कम्युनिटि अस्पताल दोलखामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सिन्धुलीको दुधौली नगरपालिका–२, भलुवाही बस्ने सुक देव कुमरको छोरा अन्दाजी ८ वर्षीय आयुष कुमरको डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार, घर नजिकैको कमला खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
स्तै, चितवनको भरतपुर महानगरपालिका–१७, लप्टन डाँडा बस्ने भैरव सुनारको छोरा वर्ष ६ को प्रिन्स सुनार पोखरीमा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार आफ्नै घर नजिकै खेलिरहेको अवस्थामा अचानक चिप्लिएर नजिकै रहेको पोखरीमा खस्न जाँदा सुनार गम्भीर घाइते भएका थिए । उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता, रामेछापको सुनापती गाउँपालिका–३, हिलेदेवी बस्ने चमारसिंह तामाङको छोरी वर्ष १६ की जेसुङ तामाङ भुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । उनी आफ्नै घरदेखि अन्दाजी २०० मिटर पूर्वमा रहेको दुधिलोको रुखमा नाईलनको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
उता, धादिङको थाक्रे गाउँपालिका–६, महादेववेशी बजारस्थित रुद्रबहादुर नेपालीको घरमा चितवन खैरेनी नगरपालिका–४ शिवालय चोक घर बताउने वर्ष ३० को सन्तोष परियार मृत अवस्थामा फेला परेकी छन् । कोठा भाडामा लिएर टेलर काम गरी बस्ने परियार घरको दोस्रो तल्लाको च्यानलगेटमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
त्यसैगरी, मकवानपुरको मनहरी गाउँपालिका–५, वसन्तपुर बस्ने २२ वर्षीया पार्वती लामिछाने मृत अवस्थामा फेला परेकी छन् । आफ्नै घरको काठको धुरिको बलोमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी, काभ्रेको रोशी गाउँपालिका–७, र नमोबुद्ध नगरपालिका–५ को सिमानास्थित रोशी खोलामा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको छ । ती पुरुषको हाल पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
सबै घटनाको मुचुल्कासहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
