बाढीले दशजगामा रहेको सीमा स्तम्भ बगायो
झापा । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ । निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०–१५ नम्वरको सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनका अनुसार, शुक्रबार दिउँसो आएको बाढीले उक्त सीमा स्तम्भ बगाएको भन्दै स्तम्भ खोजी कार्य भइरहेको छ ।
यस्तै, गत असार २६ गतेदेखि आएको अविरल वर्षाले जिल्लाका विभिन्न स्थान डुबान पर्नुका साथै सयौँ घर विस्थापित भएका छन् । अविरल वर्षाका कारण दमक–४ ताराबारीस्थित मावा खोलामा बाढी आई खोला किनार रहेको खाली ऐलानी जग्गा कटान गरेको प्रहरीले जनाएको छ ।
यस्तै, जिल्लाको बाह्रदशी–२ स्थित अदुवा खोलामा आएको पानीको बहाव बढ्दा सुकुम्वासी बस्तीका ४५ घरपरिवार विस्थापित भएका छन् । गौरादह नगरपालिका–५ चप्रामशी डुब्बाटोल स्थितमा चन्दु खोला र रतुवा खोलाको बाँध पानीले कटान गर्दा २६ घरपरिवार विस्थापित भएकामा हाल अवस्था सामान्य बन्दै गएपछि विस्थापित घर फर्किका छन् ।
