मकवानपुर प्रहरीद्वारा ४७ लाखको सुनसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८० असार २८, बिहीबार १७:१२

मकवानपुर । मकवानपुर प्रहरीले अवैध सुनसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोष्टबाट आज बिहान ४७ लाख रुपैयाँ भन्दा बढी मुल्यको सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ४७ लाख ३६ हजार ७२९ रुपैयाँ मुल्य बराबरको ४८९ ग्राम ३७ मिलि ग्राम सुनसहित पर्साको वीरगंज महानगरपालिका वडा नम्वर १ बस्ने ३५ वर्षीय प्रभु साह सोनारलाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहान साढे ११ बजेको समयमा काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना १ ज ७४९० नम्वरको यात्रुवाहक सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार सोनारको साथबाट सो परिमाणको सुन बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

उनलाई विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।