सर्वोच्चद्वारा कोशी सरकारविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

तु खबर संवाददाता
२०८० असार २७, बुधबार १८:४७

काठमाडौँ । सर्वोच्च अदालतले नवगठित कोशी सरकारविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले गत असार २२ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

एमाले नेतृत्वको सरकार अल्पमतामा परेपछि भएको मत विभाजनमा सत्तारुढ नेतृत्व र एमाले नेतृत्वले बराबर मत ल्याएको थियो ।

त्यसपछि सभामुख बाबुराम गौतमको मतबाट सत्तारुढ गठबन्धन बहुमतमा रही सरकार गठन गरेपछि विपक्षमा पुगेको एमालेले सरकार गठन अवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएको थियो ।

सर्वोच्चले विपक्षीहरुको नाममा ७ दिनको समय दिएर साउन ३ गतेभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।