ललिता निवास जग्गा प्रकरण: सञ्चार सचिव राउत पक्राउ
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।
राउतलाई आइतबार पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । सीआईबीले पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गराइसकेको छ ।
सीआईबीले आइतबार नै यो प्रकरणमा समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याललाई पनि पक्राउ गरेको छ ।
बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
उक्त प्रकरणमा प्रहरीले तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पनि पक्राउ पुर्जी लिएको छ ।
पक्राउ पुर्जी जारी भएकामध्ये पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि ब्यूरोको हिरासतमा छन् ।
