चर्चित गायक तथा अभिनेता रविन तामाङ मृत अवस्थामा फेला
काठमाडौँ । नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङ मृत अवस्थामा फेला परेका छन् । उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनकी दिदी भगवती तामाङले जानकारी दिइन् ।
प्रहरी प्रभाग बुढानीलकण्ठका अनुसार, तामाङ घरको कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएका हुन् ।
उनकोे शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । बुधबार बिहान १० बजे उनको शव पोष्टमार्टम हुनेछ ।
नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज (रविन एन्ड दि न्यू रेभोलुसन)’ का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो ।
हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका उनको नेपाली रक गीतको विकासमा योगदान महत्वपूर्ण मानिन्छ ।
