हेटौंडामा बनेको फोहोर व्यवस्थापन गर्ने मेसिन जापान निर्यात सुरु
मकवानपुर । फोहोरबाट नवीकरणीय ऊर्जा हाइड्रोजन ग्यास क्लिंकर उत्पादन गर्ने नेपालमै बनेको मेसिन जापान निर्यात सुरु भएको छ ।
जापानी कम्पनी यामातो इन्टरनेशनलले हेटौंडा उपमहानगरपालिका वडा नम्वर–८ मा फोहोर व्यवस्थापन गरी नवीकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाउने कारखाना संचालन गरेको हो ।
उक्त मेसिनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गरेका हुन् । यहाँबाट उत्पादित मेसिन जापान निर्यात भइरहेको छ ।
यहाँ उत्पादित ३ वटा मेसिन ३ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मका जापान निर्यात भइसकेको यामातो इन्टरनेसनलका नेपाली संचालक कृष्ण खतिवडाले जानकारी दिए ।
उनका अनुसार, मेसिनले फोहोरमा भएका टिन, फलाम लगायतका वस्तु छानेर अलग गरिदिन्छ । यस्तै, मेसिनबाट कुहिने तथा नकुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिंकर, पत्थर कोइला र मललगायतका सामग्री उत्पादन हुने हुनेछ ।
मेसिनभित्र जडान भएका सिस्टमले फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहजै गर्न सकिने उनले बताए ।
