मकवानपुरमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दो

तु खबर संवाददाता
२०८० असार १६, शनिबार १६:३२

मकवानपुर । मकवानपुरमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले जनाएको छ ।

इन्सेक मकवानपुरले अर्धवार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरेको सन् २०२३ को ६ महिना (जनवरी–जुन) को तथ्याङ्क अनुसार ४६ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ४८ जना मानिस पीडित भएका छन् ।

जसमध्ये ३७ जना महिला र ७ जना पुरुष र १ जना यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्ति पीडित रहेको इन्सेक मकवानपुरका प्रतिनिधि पुष्पराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार, बाल अधिकारका घटनामा १८ जना बालिका पीडित भएकोमा १५ जना बलात्कार, ३ जना यौन दुव्र्यवहारबाट पीडित भएका छन् ।

यस्तै, महिला अधिकारका घटनामा १९ जना पीडित भएकोमा ९ जना बलात्कार, २ जना बलात्कार प्रयास, १ जना हत्या र ७ जना बहुबिबाहको घटनामा पीडित भएका छन् ।

यसैगरी, सो अवधिमा २ वटा हत्याका घटना भएका छन् भने ७ वटा कुटपिटसहित हत्या प्रयासका घटना भएका छन् । जसमा हत्याबाट १ जना महिला र १ पुरुष मृत्यु भएको छ भने कुटपिटसहित हत्या प्रयासबाट ६ जना पुरुष र १ जना यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्ति पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।