हेटौंडामा प्रदेश प्रथम युवा सम्मेलन–२०८० सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश प्रथम युवा सम्मेलन–२०८० मंगलबार सम्पन्न भएको छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा सोमबारबाट सुरु भएको उक्त सम्मेलन मंगलबार ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
युवालाई ज्ञान, सीप र दक्षतायुक्त बनाउन परिषद्को अग्रसरतामा प्रथम युवा सम्मेलन आयोजना गरिएको बताउँदै परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले ११ बुँदे घोषणापत्र जारी गरी मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई घोषणापत्र बुझाएका थिए ।
घोषणापत्र बुझ्दै मुख्यमन्त्री जम्मकट्टेलले युवामार्फत समृद्ध बागमती प्रदेश निर्माण गर्ने बताए । घोषणापत्रमा उल्लेख भएका विषयहरु प्रदेश सरकारको नीतिमा समावेश गरी आवश्यक योजना ल्याउने उनले प्रतिवद्धता जनाए ।
यस्तै, कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले उक्त सम्मेलनले जारी गरेको घोषणापत्रका बुँदालाई शतप्रतिशत कार्यान्वयन गर्ने बताइन् । न्यून बजेटका बाबजुद पनि राम्रा कार्यक्रम गर्न सकिन्छ भन्ने उदाहरण प्रथम प्रदेश युवा सम्मेलनले पुष्टि गरेको उल्लेख गरिन् ।
प्रदेशका १३ वटै जिल्लाबाट १ सय ५० प्रतिनिधि युवाको सहभागिता रहेको सम्मेलनमा उद्यमशीलता र व्यापार, सामाजिक र सार्वजनिक जीवनमा युवाको सहभागिता, देश विकासमा युवाको भूमिका, व्यवसाय सुरुवातसम्बन्धी अवधारणा र सामाजिक सञ्जालको सदुपयोग एवम् चुनौतिका विषयमा ५ वटा सत्रमा प्रस्तुती तथा अन्तरक्रिया भएको थियो ।
सम्मेलनको समापनको अवसरमा परिषद्ले विभिन्न क्षेत्रमा योगदान पुर्याएका ५ जना युवालाई पुरस्कृत गरेको छ । बहिरा कलाकार काठमाडौंकी सुजल बम, भाषा, संस्कृति र साहित्य क्षेत्रका मकवानपुरको थाहा नगरपालिका बिर्खे अन्जान, नवप्रवर्तनतर्फ चितवनका अभय परियार, उद्यमतर्फ ललितपुरको आमा–छोरी अचार उद्योग र सामाजिक सेवाको क्षेत्रमा ललितपुरकी अंशु कार्कीलाई सम्मान गरेको छ । उनीहरु सबैलाई जनही २५–२५ हजार रुपैयाँसहित सम्मापनपत्र प्रदान गरिएको थियो ।
