हेटौंडा अस्पतालमा ६ महिनाभित्र मृगौला प्रत्यारोपण सेवा सुरु गरिने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा अस्पतालमा ६ महिनाभित्र मृगौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ ।
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिने भएको अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले जानकारी दिए ।
मेसु डा.सापकोटाले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेल्थपाटी डटकमले आयोजना गरेको अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रम बोल्दै सो कुराको जानकारी गराएका हुन् ।
उनले प्रत्यारोपण सेवा सुरु गर्न अहिले अस्पतालमा पूर्वाधार निर्माणको साथै आवश्यक उपकरण खरिद गरि प्रत्यारोपण सेवा विस्तारको जग बसाउने काम भइरहेको बताए । चालु आर्थिक वर्षको प्रदेश सरकारले हेटौडा अस्पताललाई प्रत्यारोपण सेवा सुरु गर्न अनुदान स्वरुप ९ करोड रुपैंया अनुदान दिएको थियो ।
सो रकम उपकरण खरिद र पूर्वाधार विकासमा खर्च गरी प्रत्यारोपण सेवा सुरु गर्न तयारी अवस्थामा रहेको मेसु सापकोटाले बताए । उनले आगामी वर्ष (२०८०–८१) को बजेटमा पनि प्रत्यारोपण सेवा शीर्षकमा ४ करोड रुपैंया विनियोजन भएको बताए ।
हेटौंडा अस्पतालमा विगत ३ वर्षदेखि डाइलाइसिस सेवा सुरु गरिएको बताउँदै उनले अहिले पनि महिनामा करीब ५० जना मृगौलाका बिरामी डाइलाइसिसका लागि पालो कुर्नपर्ने बाध्यता रहेको उल्लेख गरे ।
डाइलाइसिसको बिरामीको तुलनामा अब १५ वटा डाइलाइसिस मेशिन थप गर्नपर्ने आवश्यक रहेको उनले बताए ।
