हेटौंडामा प्रथम प्रदेश युवा सम्मेलन सुरु

तु खबर संवाददाता
२०८० असार ११, सोमबार १६:४२

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट प्रथम प्रदेश युवा सम्मेलन २०८० सुरु भएको छ । सम्मेलन बागमती प्रदेश युवा परिषद्को आयोजनामा सुरु भएको हो ।

सम्मेलनको बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले उद्घाटन गरेका हुन् । सो क्रममा उनले युवा पुस्तामा छाएको निराशालाई व्यवस्थापन गर्नु जरुरी रहेको बताइन् ।

उनले सुशासन र नवप्रवर्तनको विकास गर्न प्रदेश सरकार चिन्तनशील रहेको बताउँदै सम्मेलनबाट समस्या पहिचान गर्ने मात्रै नभई युवा वर्गका समस्या समाधानका उपाय पनि खोजी गर्न आग्रह गरिन् ।

मंगलबारसम्म संचालन हुने उक्त सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट १ सय ५० युवा सहभागी रहेका छन् । सम्मेलनमा युवाका विषयमा विभिन्न ५ विषयमा केन्द्रित रहेर समूह छलफल हुनेछ ।

कार्यक्रम प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँको सभाध्यक्षमा भएको हो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्यद्वय एकालाल श्रेष्ठ र प्रेम बहादुर पुलामी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा. नीरबिक्रम थापा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामालगायतको आतिथ्यता रहेको थियो ।