राक्सिराङको बजेट १० करोडले घट्यो

तु खबर संवाददाता
२०८० असार १०, आईतवार ०८:३२

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको लागि करिब १० करोड रुपैयाँ कम बजेट सार्वजनिक गरेको छ । शनिबार गाउँसभाको १४ औं अधिवेशनमा आगामी आव २०८०/०८१ का लागि बजेट सार्वजनिक गरेको हो ।

पालिकाको तर्फबाट पालिकाका उपाध्यक्ष बनस्तम थिङले आगामी आवको लागि ५७ करोड ८८ लाख ९७ हजार १ सय ९७ रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । चालु आवका लागि ६६ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिएको पालिकाले आगामी वर्षको बजेट करिब १० करोडले घटाइएको हो ।

पालिकाले आगामी आवमा पुँजीगततर्फ २४ करोड ५३ लाख ६५ हजार र चालुतर्फ ३५ करोड ४१ लाख ६० हजार रुपैयाँ छुट्याएको छ । गाउँपालिकाले सामाजिक विकासतर्फ २२ करोड ६७ लाख ७८ हजार रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, शिक्षातर्फ १५ करोड ७२ लाख रुपैयाँ छुट्याइएको छ भने सडक, पुल तथा झोलुङ्गे पुलको लागि ४ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पालिकाले भवन तथा सहरी विकासतर्फ १ करोड ३० लाख, खानेपानीतर्फ १ करोड ६० लाख रुपैयाँ, स्वास्थ्यतर्फ ४ करोड ७० लाख रुपैयाँ, कृषितर्फ १ करोड ७२ लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ ७ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी विपद व्यवस्थापनतर्फ ४० लाख रुपैयाँ, उद्योग, रोजगारी तथा गरिबी निवारणका लागि २५ लाख रुपैयाँ, सञ्चार तथा सूचनातर्फ ३३ लाख रुपैयाँ विनियोजन गरेको पालिकाले महिला बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग, दलित र पिछडिएका वर्गको उत्थान र प्रवर्धनात्मक कार्यक्रमको लागि २८ लाख रुपैयाँ छुट्याएको छ ।

खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ५ करोड ४ लाख ९५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । संघीय सरकारबाट जम्मा ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश सरकारबाट ७ करोड ७९ लाख ३२ हजार रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ । स्थानीय राजस्व संकलनबाट २ करोड ४५ लाख रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ ।