बागमती प्रदेशका १० शीत भण्डार निर्माण अन्तिम चरणमा
मकवानपुर । बागमती प्रदेश सरकारको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेको अधिकांश शीत भण्डारहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सरकारले प्रदेशका १३ वटै जिल्लामा व्यावसायिक कृषकहरूलाई लक्षित गरी निर्माण कार्य सुरु गरेको ४ वर्ष पूरा भइसकेको अवस्थामा ती शीत भण्डार निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
प्रदेशका १० मध्ये ३ वटा शीत भण्डारको परीक्षण समेत भइसकेको छ भने ५ वटाको निर्माण कार्य सम्पन्न भई परीक्षणको तयारीमा रहेका छन् । यस्तै २ वटा शीत भण्डारको काम भने अझै जारी रहेको छ ।
प्रदेशको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र साझेदार संस्थाहरूको सहकार्यमा निश्चित रकम साझेदार संस्थाले व्यहोर्ने गरी संयुक्त लगानीमा शीत भण्डार निर्माणको काम सुरु गरिएको मन्त्रालयका सचिव शरणकुमार पाण्डेले जानकारी दिए ।
सरकारले चितवनको खैरहनी नगरपालिका वडा नम्बर–६, धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका वडा नम्बर–७, रसुवाको कालिका गाउँपालिका वडा नम्बर–२, सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर–५, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर–७, सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिका, दोलखाको जिरी नगरपालिका वडा नम्बर–५, रामेछापको मन्थली नगरपालिका, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर–५ र नुवाकोटकै बेलकोटगढी नगरपालिका वडा नम्बर–१० मा शीत भण्डार निर्माण सुरु गरेको थियो ।
